सम्माननीय राष्ट्रपतिज्यूले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भए पश्‍चात हुन लागेको  तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन म आह्वान गर्दछु ।

नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको श्रृङ्‍खला को रुपमा व्यापक जनसहभागितासहित मिति 2074 वैशाख 31 गते पहिलो चरणको निर्वाचन र २०७४ असार १४ गते दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सर्वविदितै छ ।स्थानिय तहको तेस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ । साथै, यस निर्वाचनले गाउँ तथा नगरमा नेतृत्व स्थापित गर्दै स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्नेछ भन्ने मलाई विश्वास छ ।

मिति २०७४ असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गकासाथ सहभागी भई संविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई म अनुरोध गर्दछु ।

 

धन्यवाद !

२०७४ साल असोज २ गते सोमबार ।