सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीमा स्थापित सेतो जेड ढुङ्गाद्वारा निर्मित महा करुणा बुद्धको प्रतिमा अनावरणको अवसरमा गर्नु भएको सम्बोधन

विश्व शान्तिको मुहानका रूपमा परिचित गौतम बुद्धको पवित्र जन्म स्थल लुम्बिनीमा अवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा महा करुणा बुद्धको प्रतिमा स्थापना गरी त्यसको अनावरण समारोह आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिन चाहन्छु ।

बहुमूल्य शिलाद्वारा बुद्ध प्रतिमा निर्माण गरी नेपाललाई उपहार स्वरूप प्रदान गरेर राष्ट्रिय गौरवको आयोजना समेत रहेको यस विमान स्थलमा उक्त प्रतिमा स्थापना कार्यमा संलग्न लुम्बिनी गार्डेन फाउन्डेसन र सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।

हाम्रो देश नेपाल विश्वशान्तिका प्रवर्तक बुद्धको जन्मस्थल हो । यस ऐतिहासिक क्षेत्रले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा हामी सम्पूर्ण नेपालीले सधैँ गर्वको अनुभूति गरेका छौँ र सधैँ गरिरहने छौँ । बुद्धले पच्चिस सय वर्ष भन्दा अगाडि पहिल्याउनु भएका जीवन उपयोगी सन्देशहरू अहिले पनि निकै सान्दर्भिक हुनु र यसका अनुयायीहरू दिनानुदिन विस्तारित हुँदै जानु हाम्रा निम्ति खुशीको विषय हो ।

बुद्ध जन्मस्थल यस भूमिका हामी नेपालीहरू बुद्धत्वको भावना अनुरूप एक आपसमा सधै सद्भावका साथ मिलीजुली बसेको हाम्रो इतिहास साक्षी छ । यसले हाम्रो पहिचान मात्र स्थापित भएको छैन, विश्व समुदायलाई नै अहिंसा र शान्तिको शिक्षा मिलेको छ । बुद्ध दर्शनलाई मानवले दैनिक जीवनमा आत्मसात गर्दै अगाडि बढ्न सक्दा नै विश्वमा दिगो शान्ति कायम हुन सक्दछ भन्ने मलाई लागेको छ ।

पूर्वीय दर्शनको चर्चा हुँदा ‘जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी’ भन्ने भनाई लोकप्रिय छ । जन्मदिने आमा र जन्मस्थल सबैभन्दा महत्वपूर्ण हुन्छ, मातृभूमि प्यारो हुन्छ भन्ने सन्देश यसबाट प्रवाह भइरहेको छ । हाम्रो मातृभूमि नेपालको लुम्बिनीमा नै बुद्ध अवतरित हुनु भएकाले यस स्थलको उन्नयनका लागि विकासका गतिविधिहरू सघन हुनुपर्ने विषयलाई स्वाभाविक रूपमा लिनु पर्दछ ।

यहाँ योग र ध्यान जस्ता साधना तथा खोज र अध्ययन गर्नसक्ने परिवेश सहितका बुद्ध संस्कृतिसँग जोडिएका दिगो, आकर्षक र मौलिक पूर्वाधारको विकास गरी स्वदेशी तथा विदेशी पर्यटकलाई न्यानो आतिथ्यता दिनु पर्दछ । यस क्षेत्रमा पर्यटकलाई उत्कृष्ट सेवा तथा सत्कारले बुद्ध दर्शनको मूल मर्म र भावना पहिल्याउन योगदान पुग्दछ साथै स्थानीय समुदायको समृद्ध जीवनमा समेत सहयोग पुग्नेछ ।

विश्व सम्पदाका रूपमा सूचीकृत लुम्बिनी विश्वकै आकर्षक क्षेत्र हो र यसलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रूपमा विकास गर्नका निर्मित गुरु योजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ । यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीहरूको अध्ययन, अनुसन्धान, संरक्षण सहित सबै मूर्त र अमूर्त सम्पदालाई उजागर गर्दै बुद्ध सर्किट विकास गरी यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामू प्रस्तुत गर्नु पर्दछ । यस क्षेत्रलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्दै विश्वकै एक उत्कृष्ट प्राज्ञिक स्थलको रूपमा विकास गर्न दृढ संकल्पित बन्नु पर्दछ ।

लुम्बिनीमा अवस्थित यस विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्ने कार्य सम्पन्न भएपछि संसारभरका बौद्धमार्गी, अनुसन्धाता र जिज्ञासुहरूलाई आवत जावत गर्न सजिलो हुने भएकाले यस विषयमा सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यान पुग्नुपर्दछ भन्ने मलाई लागेको छ । यस सन्दर्भमा बहुमूल्य सेतो जेड ढुङ्गाद्वारा निर्मित महा करुणा बुद्धको प्रतिमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना हुनुले लुम्बिनीमा एउटा आयाम थपिएको मैले महसुस गरेको छु । यस प्रतिमाको स्थापनाले विश्वभरिबाट लुम्बिनीको दर्शनार्थ आउने प्रत्येक यात्रीलाई करुणा र अहिंसाको सत्मार्गमा रहने सन्देश पु¥याउन सहयोग पुग्ने विश्वास लिएको छु ।

शान्ति र सद्भावका लागि बुद्धका सार्वकालिक सन्देशले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पु¥याउने विश्वासका साथ यसको प्रचार प्रसार गर्न गठित लुम्बिनी गार्डेन फाउन्डेसनको उद्देश्य सराहनीय छ । बुद्धका प्रतिमाको निर्माणले उहाँका सन्देशहरूलाई आत्मसात गर्न र थप जागरुक बनाउन सम्बद्ध सबै पक्षलाई प्रेरित गर्ने मेरो विश्वास छ ।

यस प्रतिमाकै प्रतिरूप स्पेनको कोथेरस नगरमा महा करुणा बुद्धको अझ भव्य आकारको प्रतिमा स्थापना हुने कुरा थाहा पाएर मलाई खुसी लागेको छ । यस कार्यबाट नेपाल र स्पेनलाई शान्ति र सद्भावको भावनाले मित्रतामा आवद्ध गरेको थप सन्देश पनि दिनेछ । यसले कुटनीतिक सम्बन्ध थप मजबूत बनाउँदै जनस्तरको सम्बन्धलाई घनिष्ट बनाउन विशेष भूमिका खेल्नेछ ।

स्पेनमा स्थापना हुने उक्त प्रतिमाको गर्भभित्र गौतम बुद्धले पहिलो पाइला टेकेको यस लुम्बिनीको पवित्र माटो राखेर शोभायमान गरी शान्ति, करुणा, अहिंसा र सद्भावको सन्देश पु¥याउन के के गर्न सकिन्छ बुद्ध दर्शनका ज्ञाताहरूको सल्लाह र सुझावको अपेक्षा गर्दछु ।

हाम्रो देश समुन्नतिको यात्रामा अगाडि बढिरहेको परिवेशमा यस क्षेत्रले समेत विकासको महा अभियानलाई सार्थक तुल्याउन अग्रसर बन्नु पर्दछ ।

यहाँ प्राचीन कालमा नै कपिलवस्तु तिलौराकोट क्षेत्रमा व्यवस्थित शहरको विकास भएको कतिपय खोज तथा अनुसन्धानले देखाएकाले यस ऐतिहासिक विरासतबाट गहिरो शिक्षा र प्रेरणा लिएर यस क्षेत्रमा खानेपानी, सडक, बिजुली, ढल, स्तरीय स्वास्थ्य पूर्वाधारसहित उत्कृष्ट वस्तीको विकास गर्न सम्बन्धित निकायले ध्यान पुर्‍याउनु पर्दछ । यसबाट यहाँका जनताको जीवनस्तर माथि उठेर यस क्षेत्रको समग्र साँस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छु ।

अन्तमा, बुद्धका उपदेशलाई मन, बचन र कर्मले पालना गर्न आजको दिनले हामी सबैलाई थप प्रेरणा दिनेछ भन्ने विश्वासका साथ आजको कार्यक्रम सफल पार्न योगदान पुर्‍याउने सबैलाई पुनः एकपटक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७८ साल कार्तिक १४ गते आइतबार ।

रूपन्देही, लुम्बिनी