सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वि.सं. २०६३ साल जेठ २१ गते मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालको संविधान तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिँदै त्यसलाई निषेध गरेको छ । तथापि, समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन ।

छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण¸ सभ्य¸ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको छ । यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकता पर्दछ भन्ने मलाई लागेको छ ।

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन म सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु । सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात-जाति र समुदाय बीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन समेत आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ ।

अन्तमा, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता¸सद्‌भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ जेठ २१ गते शुक्रबार ।