विवाह पञ्चमीको उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

त्रेता युगमा मर्यादापुरुष श्री राम र जनक नन्दिनी भूमीपुत्री जानकीको विवाह सम्पन्न भएको आजको पावन दिनमा मार्ग शुक्ल पञ्चमी नेपालको खास गरी मिथिला क्षेत्रमा विवाह पञ्चमीको रुपमा हर्षोल्लासका साथ मनाइरहेको अवसरमा सम्पूर्ण आदरणीय दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रत्येक वर्ष मार्ग शुक्ल प्रतिपदादेखि नै जनकपुरधाममा नगर परिक्रमा, फूलबारी लिला, धनुषयज्ञ र तिलकोत्सव लगायतका विभिन्न उत्सव आयोजना गरी भव्य रुपमा मनाइने विवाह पञ्चमीमा नेपाली नागरिकहरु मात्र नभएर मित्रराष्ट्र भारतका समेत विभिन्न स्थानबाट ठूलो संख्यामा नरनारीहरु जनकपुरधाममा भेला भई उत्सवमा सहभागि हुने परम्परा रही आएकोछ ।

धार्मिक साँस्कृतिक विविधताले सम्पन्न हाम्रो देशमा विवाह पञ्चमी जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरुवीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता सुदृढ पार्न मद्दत गरिरहेका छन् ।यस विवाह पञ्चमी उत्सवले नेपाल र छिमेकी मित्रराष्ट्र भारतका नागरिकहरुवीच नागरिक स्तरमा रहेको  साँस्कृतिक सम्बन्धको कडीलाई नवीकृत र प्रगाढ बनाउने अवसर प्रदान गरेकोछ । साथै यस्ता उत्सवहरुले हाम्रो पूर्वीय सभ्यताको विकास र विस्तारको प्रक्रियालाई अघि बढाउँदै उजागर गर्न र हाम्रो सभ्यतालाई समृद्ध बनाउन सहयोग गरेका छन\ ।

अन्त्यमा, यस पावन उत्सवले नेपाली वीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‍भाव र सहिष्णुता सुदृढ बनाउँदै नेपालका जनता र मित्रराष्ट्र भारतका जनतावीचमा रहेको सदियौँ पुरानो सम्बन्धलाई अझ मजवूत र प्रगाढ बनाउन मद्दत पुगोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

२०७३ साल मंसिर १९ गते आइतबार ।