सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट

आज मिति २०७७ साल असार १० गते बुधबारका दिन अपरान्ह ५:०० बजे राष्ट्रपति भवन शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले देशको समसामयिक विषयमा छलफल गर्न सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरू, माननीय मन्त्रीज्यू लगायत संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका अध्यक्षज्यूहरू एवं वरिष्ठ नेताहरूसँग भेटघाट गर्नुभयो ।

उक्त भेटघाटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्नका लागि संविधान संशोधन गर्ने सवालमा दलहरू बीच देखा परेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू ज्यादै खुसी भएको कुरा व्यक्त गर्नुहुँदै धन्यवाद दिनुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले कोभिड-१९ को महामारी विरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकोमा खुसी व्यक्त गर्नुभयो भने यस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नु हुँदै कोरोना प्रभावित विरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

यसैगरी सम्माननीय राष्ट्रपतिज्यूले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्नुहुँदै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलहरूबीच एकता कायम हुनुपर्ने कुरामा जोड दिनुभयो । यसरी राष्ट्रका ज्वलन्त विषयमा दलहरूबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

(हरि प्रसाद दहाल)

प्रवक्ता