विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६  का अवसरमा राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७६ साल असोज ३ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा सरिक हुनुभयो। उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक संक्रमणको अन्त्य भई लोकतन्त्रको संस्थागत विकास एवम् जनआकांक्षा अनुरुप देशको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न सवैलाई आह्वान गर्नुभयो । सम्माननीय राष्ट्रपतिज्यूले नेपाल विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास गर्न प्रतिवद्ध रहेको र संविधानको सर्वोच्चता, कानूनको शासन, प्रेस स्वतन्त्रता, मानव अधिकार र समावेशी लोकतन्त्रका मूल्य मान्यताप्रति सदा दृढ रहेको बताउनु हुँदै लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा देशको सामाजिक, आर्थिक रुपान्तरण अभियानमा सघाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाप्रति धन्यवाद दिनु भयो । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरु, विभिन्‍न राजनैतिक दलका शिर्षस्थ नेताज्यूहरु, विशिष्ट व्यक्तित्वहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, नेपालका लागि विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधीज्यूहरु लगायतको उपस्थिति रहेको थियो।

   (केशव प्रसाद घिमिरे)

 सहायक प्रवक्ता

२०७६ साल असोज ३ गते शुक्रबार