मजदुर दिवस २०१७ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

श्रमिकहरुको अधिकार स्थापित भएको दिनका रुपमा प्रत्येक वर्ष मे १ मा  विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस मजदुर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु ।

आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविहरुलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मलाई लागेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु ।

लोकतान्त्रिक व्यवस्थामा सबै अटाउने, सबैको अधिकार सुनिश्चित हुने भएकाले सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा र पसिना बगाउँदा अनुकूल श्रम वातावरण, न्यायोचित कार्यघण्टा एवं पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गर्दछु । आजको यस दिवसको पुनित अवसरमा सबै नेपाली श्रमिक तथा मजदुरहरुले आफ्नो हक–अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्दछु ।

 

धन्यवाद !

मिति २०७४ साल वैशाख १८ गते सोमबार