सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाउनु भएको छ । काठमाडौँ स्थित बेलायती राजदुतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले निम्न अनुसारको सन्देश दिनुभएको छ –

‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनबाट मलाई अत्यन्तै दु:ख लागेको छ । नेपाली जनता‚ नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु । शोकको यस दु:खद् घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ तपाईँहरूसँग रहेको छ ।

महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको छ । महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता हुनुहुन्थ्यो । उहाँले सन् १९६० र १९८६ मा गर्नुभएको नेपाल भ्रमणको सम्झना नेपाली जनताले सदैव गरिरहने छन् ।’