बालबालिकासंग राष्ट्रपति

आज राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रिय बाल दिवस, २०७६ को अवसरमा बालबालिकासंग राष्ट्रपति कार्यक्रम सम्पन्‍न भयो । सुनिश्‍चित बाल अधिकारः समृद्ध नेपालको आधारभन्‍ने नाराका साथ यस वर्ष मनाउन लागिएको कार्यक्रममा बालबालिकाहरूले सम्माननीय राष्ट्रपतिज्यूसमक्ष उहाँको बाल्यकाल, समग्र बालबालिका र महिलाहरूलाई के सन्देश छ, जस्ता जिज्ञासा राखेका थिए । सम्माननीय राष्ट्रपतिज्यूबाट बाल दिवसको उपलक्ष्यमा सबै बालबालिकाहरूलाई शुभकामना दिनुहुँदै उनीहरुको जिज्ञासाहरुमा आफ्नो बाल्यकालको अनुभव, दुःख अभाव र अफ्ठ्यारो तथा हालको सहज अवस्थाको बारेमा स्पष्ट पार्नु भएको थियो ।अहिले बालबालिकाको समग्र विकासमा राज्यको साथै निजि क्षेत्र, अभिभावक, विद्यालय र समग्र समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै बालबालिकालाई “असल नागरिक” बनाउन सवभन्दा बढी अभिभावकले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नु भयो । आजका बालबालिका भोलिका निर्णायक जनशक्ति भएकाले सबै पक्षबाट बालबालिकाको क्षेत्रमा सकारात्मक कार्यहरु गर्नु पर्ने कुरामा जोड दिनु भयो । सो अवसरमा माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लगायत सातै प्रदेशबाट बालबालिका, अभिभावक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता

२०७६ साल भाद्र २८ गते शनिबार