नेपाल पुस्तकालय संघको नेतृत्वमा आएका लाइब्रेरियनहरू तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित विज्ञहरूसँगको भेटघाटको अवसरमा गर्नुभएको सम्बोधन

नेपाल पुस्तकालय संघका अध्यक्ष‚

विभिन्न पुस्तकलायहरूका प्रतिनिधिहरू‚

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

नेपाल पुस्तकालय संघको नेतृत्वमा आउनु भएका नेपालका विभिन्न पुस्तकालयहरूका प्रतिनिधि तथा पुस्तकालय विज्ञानका अनुभवी विज्ञहरूसँग हाम्रा पुस्तकालयहरूको वर्तमान अवस्था‚ यस क्षेत्रले भोग्नु परेका समस्या‚ चुनौति र भावी दिशाका ’boutमा तपाईंहरूका विचार जान्न र सुन्न पाउँदा मलाई  खुसी लागेको छ । तपाईंहरूलाई म राष्ट्रपति कार्यालयमा हार्दिक स्वागत गर्दछु । आज यहाँहरूले राख्नुभएको विभिन्न जानकारीमुलक प्रस्तुतीका लागि समेत म तपाईंहरूलाई हार्दिक धन्यवाद दिन चाहान्छु  ।

पुस्तकालय सभ्य समाजका लागि ज्ञानको स्रोत र नयाँ विचारको जन्मस्थान हो । तपाईंहरूले आज प्रस्तुत गर्नुभएको सन्दर्भले पनि बताएको छ- पुस्तकालय भन्नाले केवल पुस्तकहरूको भण्डार मात्र होइन  । विभिन्न विषयका पुस्तक, अनुसन्धान प्रतिवेदन, ऐतिहासिक दस्तावेज, नयाँ र अद्यावधिक तथ्याङ्क सहितको स्रोत केन्द्रका रूपमा पुस्तकालयहरूले ज्ञान निर्माण गर्न विशिष्ट भूमिका खेलिरहेका हुन्छन् । यसरी एउटा पुस्तकालय आधारभूत तहमा पुस्तकहरूको सङ्ग्रह हुनसक्दछ भने विशिष्टीकृत तहमा  अत्याधुनिक स्रोत केन्द्र तथा नीति अध्ययनको स्थल बन्न सक्दछ ।

नेपालमा सार्वजनिक एवं व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयहरू धेरै छन् । विभिन्न विश्वविद्यालयहरूले सञ्चालन गरेका पुस्तकालयबाट विद्यार्थी र अध्येताहरूले लाभ उठाउन सफल भएका उदाहरणहरू पनि पर्याप्त छन् । यसबाहेक स्थानीय स्तरमा विद्यालयबाट संचालित पुस्तकालय, निजी तथा सामुदायिक पुस्तकालयहरूले नेपालमा शिक्षा र चेतनाको विस्तार गर्न ठूलो भूमिका खेलेका छन्  । यद्यपि ती पुस्तकालयको स्तर वृद्धि गर्न, विस्तार गर्न तथा नयाँ प्रविधिको प्रयोगबाट पाठकहरूसम्म पहुँच पुर्‍याउन एवं अभिरुची जगाईराख्न थप कार्यहरू गरिनुपर्ने खाँचो रहेको छ ।

सूचना तथा सञ्चार प्रविधिको प्रयोग तथा विस्तारका कारण नयाँ पुस्ताका पाठकहरू डिजिटल माध्यमतर्फ बढ्दो सङ्ख्यामा आकर्षित हुँदै गएको पाइन्छ । वर्तमान विश्वमा पुस्तकहरू पढिने मात्र होइन, हेर्न र सुन्न सकिने रूपमा पनि रुपान्तरित गरी बजारमा उपलब्ध हुन थालेका छन् । यसरी पहुँचको विस्तार हुँदा समेत पठन संस्कृति भने कमजोर हुँदै गएको टिप्पणी यदाकदा सुन्ने गरेका छौँ । पाठकहरूका बीचमा कुनै विषयमाथि गहिरिएर अध्ययन गर्ने, छलफल चलाउने, पुस्तकका ’boutमा चर्चा-परिचर्चाहरू सञ्चालन गर्ने, नयाँ पुस्तकका ’boutमा समीक्षात्मक सेमिनारहरू आयोजना गर्ने जस्ता क्रियाकलापबाट पुस्तकालयले आफ्नो स्थान आफैं निर्माण गर्न सक्नुपर्दछ । यसरी, पठन संस्कृति प्रवर्द्धन गर्ने सबैभन्दा उपयुक्त माध्यमका रूपमा पुस्तकालयहरूलाई विकास गर्दै लैजान सकिन्छ  ।

हाम्रो देशमा ऐतिहासिक कालदेखि नै मन्दिर, विहार, गुठी तथा गुम्बाहरूमा ताम्रपत्र, भोजपत्र, शिलालेख जस्ता हस्तलिखित सामग्रीहरूको सङ्ग्रह गर्ने प्रचलन थियो भने मल्लकालीन भक्तपुरमा पुस्तकालयको अस्तित्व रहेको पाइन्छ । एकीकरणपश्चात पृथ्वीनारायण शाहले विभिन्न राज्यबाट प्राप्त भएका बहुमूल्य हस्तलिखित पाण्डुलिपिहरूलाई काठमाडौंको हनुमानढोका दरबारमा संकलन गरी राख्न लगाए¸जसबाट नेपालमा पुस्तकालय स्थापनाको जग निर्माण भएको मान्न सकिन्छ ।

गत वर्ष मैले नेपालको प्रामाणिक इतिहासको खोजीमा समर्पित इतिहास संसोधन मण्डलको पुस्तकालयको अवलोकन भ्रमण गर्ने सुअवसर पाएको थिएँ । बहुमूल्य, दुर्लभ र ऐतिहासिक पुस्तकहरूको संग्रह रहेको सो पुस्तकालय हालसम्म व्यक्तिगत पहल र व्यवस्थापनमा सञ्चालित छ । यसरी नै मैले काठमाडौँमा रहेका अन्य केही महत्वपूर्ण पुस्तकालयहरूको समेत भ्रमण गरेको छु । यस्ता थप  पुस्तकालयहरू देशका अन्य भागमा पनि हुन सक्छन् । तिनीहरूलाई दिगो रूपमा सञ्चालन गर्न र भावी पुस्तासम्म ज्ञानको हस्तान्तरण गर्न सरकारका सम्बन्धित निकायहरूसँग सहकार्य र समन्वयको खाँचो रहेको मैले अनुभव गरेको छु ।

पुस्तकालय तथा सङ्ग्रहालयलाई आर्थिक उपार्जन नहुने क्षेत्रको रूप हेर्ने र यस क्षेत्रको यथोचित विकासका लागि सरकार एवं जनस्तरमा समेत पहल हुन नसकेको भन्ने गुनासो पनि सुन्ने गरिएको छ । व्यक्ति र समाजको चेतना अभिवृद्धि गर्न प्रत्यक्ष भूमिका खेल्ने पुस्तकालयलाई आर्थिक मूल्यसँग तुलना गर्नु उपयुक्त हुँदैन भन्ने मलाई लाग्दछ ।

हाम्रो देश विभिन्न जातजाति¸भाषाभाषी र संस्कृतिहरूको सङ्गम थलो रहेको हुनाले हरेक समुदायसँग सम्बन्धित वाङ्‍मयको पनि पुस्तकालयहरूले अभिलेखीकरण गर्नु पर्दछ भन्ने मलाई लागेको छ ।  पुस्तकालयहरू सूचना र ज्ञानको केन्द्र समेत भएकाले प्रदेश र स्थानीय स्तरमा समेत पुस्तकालयहरू स्थापना गर्ने, भएका पुस्तकालयको संरक्षण गर्ने तथा पठन संस्कृतिको प्रवर्द्धन गर्ने तर्फ अग्रसर रहन म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

अन्त्यमा, तपाईंहरू सबैको उपस्थिति र सहभागिताका लागि फेरि एकपटक हार्दिक आभार प्रकट गर्दछु ।

धन्यवाद ।

२०७९ साल असार ९ गते बिहीबार