नयाँ वर्ष २०७४ सालको शुभअवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नयाँ वर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको हुँदा हाम्रो देशमा भएको प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएको छ ।

नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला भएकोले हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछु । लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिले हाम्रो प्रमुख कार्यभार भएकाले यसको सुदृढीकरणमा सम्पूर्ण नेपालीहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउने अपेक्षा गर्दछु । अन्तमा नयाँ जोश, उमङ्ग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष २०७४ ले खुसीको संचार सहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना प्रकट गर्दछु ।

धन्यवाद !

२०७४ साल वैशाख १ गते शुक्रबार ।