ईदुलफित्र पर्व २०७४ को शुभ अवसरमा सम्माननीय राष्ट्रपतियूको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईदुल फित्र जस्ता विशेष पर्वले देशभित्र वसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्‍भाव र भाइचाराको प्रबर्द्धन गर्दै आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन् । यसले हामीलाई विविधताबीच राष्ट्रिय एकताको भावना जागृत गरेको छ ।

रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्‍भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पुर्‍याउने हुँदा यो चाडले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भनी हार्दिक कामना गर्दछु ।

 

धन्यवाद !

मिति २०७४ साल असार १२ गते सोमबार ।