अन्तर्राष्ट्रिय महिला दिवस, २०१७ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवस, २०१७ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

“Women in the Changing World of Work: Planet 50-50 by 2030” भन्ने नाराका साथ मनाउन लागिएको 107 औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरू लगायत संसारभरका सबै दिदीबहिनीहरूमा लैंगिक समानता, महिला सशक्तीकरण र महिला मानव अधिकारको सुनिश्चितताको कामना गर्दै सुख, शान्ति, समृद्धिका साथै उत्तरोतर प्रगतिको कामना गर्दछु ।

विद्यमान सामाजिक परम्परा, धार्मिक अन्धविश्वास एवम् पुरुष प्रधान मानसिकताबाट ग्रसित मूल्य मान्यताको प्रभावले महिलाहरु शैक्षिक, सामाजिक एवम् आर्थिक रुपले पछि परेबाट पुरुषको तुलनामा महिलाहरुको स्थान कमजोर छ भने उनिहरुको अवस्था दयनीय रहेको पाइन्छ । महिलाहरुको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासको लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले सन् 2000 मा घोषणा गरेको सहश्राब्दी विकासका लक्ष्यहरु, UNO महासभाबाट पारित दिगो विकासका धेरैजसो लक्ष्यहरुमा महिला सशक्तीकरण, समानतासँग सम्बन्धित छन् । हाम्रो संविधानमानै महिला हकहितको सुनिश्चितता गरिएको छ भने आवधिक योजना तथा कार्यक्रमहरुमा समेत महिला शसक्तीकरण एवम् लैंगिक समानताका लागि प्राथमिकताका साथ नीतिगत प्रावधान, संस्थागत व्यवस्था गरी कार्यक्रमहरुको थालनीबाट समग्र महिलाहरुको अवस्थामा केही सुधार भएको अवस्था रहेको छ ।

अन्तमा, महिला शसक्तीकरण एवम् लैंगिक समानताको लागि अन्तर्राष्ट्रिय स्तरमा भएका घोषणाहरु एवम् प्रतिवद्धताहरु हाम्रा संवैधानिक एवम् कानूनी व्यवस्था, नीति र कार्यक्रमहरुको कार्यान्वयनबाट महिला शसक्तीकरणका माध्यमबाट लैंगिक समानता एवम् महिलाहरुको हक अधिकार सुनिश्चितता हुँदै जाने हुनाले यस दिवसले हामी सबैलाई महिलाहरुको हक, अधिकार, समानता, सशक्तीकरण तथा महिला मानव अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना प्रकट गर्दै यो १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।

धन्यवाद !

२०७३ फागुन २५ गते बुधबार