सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय बाघ दिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय बाघ दिवस, २०७७ को शुभकामना सन्देश

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरे अनुरुप आज श्रावण १४ गते तदनुसार २९ जुलाई, २०२० का दिन नेपालमा पनि यो दिवस मनाउन गइरहेका छौं । आजको दिन बाघ लगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्नेछ भन्‍ने अपेक्षा गरेको छु ।

बाघ संरक्षणको लागि घाँसे मैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमित रूपमा गस्ती, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिक रूपमा यसको संख्या यकिन तथा अनुगमन लगायतका कार्यक्रमहरू सञ्‍चालन गर्नुका साथै बाघ संरक्षणसम्बन्धी समुदायस्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अन्तरसरकारी सञ्‍जाल तथा मञ्‍चहरूमा नेपाल सरकार क्रियाशील रहेकोमा मलाई खुसी लागेको छ। यसबाट बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । बाघ संरक्षण एवं यसको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्‍ज र वन प्रशासन, नेपाली सेना लगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला संघ संस्थाहरूको महत्वपूर्ण योगदानको म सराहना गर्दछु । जलवायु परिवर्तनले पारिरहेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकको रूपमा रहेको बाघलाई बचाइराख्‍ने दायित्व हामी सबैको हो ।

बाघ लगायतका वन्यजन्तुहरूको आवागमन सुनिश्चित हुनेगरी पूर्वाधारहरू निर्माण गर्ने र वन्यजन्तुलाई पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने
हुन्छ । बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुनसक्ने आम्दानीलाई अझ बृद्धि गर्न पर्यापर्यटनका गतिविधिहरू प्रवर्द्धन गर्नु पर्दछ ।

अन्तमा, बाघ संरक्षणको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्थानीय समुदाय, विकास साझेदार एवम् सबैलाई धन्यवाद दिंदै बाघ संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्‍ने शुभकामना दिन चाहन्छु ।

धन्यवाद ।

मिति २०७७ साउन १४ गते बुधबार ।