काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहमा आइतबार सम्बोधन गर्दै उहाँले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरुप काम गरे मात्र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तिव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्यतम कर्मचारी छनौट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त “योग्यता, निष्पक्षता र स्वच्छता” लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा यसले आजसम्म गरेको योगदानसँगै आर्जन गरेको विश्वास, भरोसा एवम् प्रतिष्ठालाई कायम राख्दै अघि बढ्नेतर्फ आयोगले कुनै कसर बाँकी नराखी यो प्रक्रियामा समयसापेक्ष सुधार गरी प्रभावकारी ढंगले अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
