सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बडादसैँ, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

बडादसैँ, २०८३ को शुभकामना सन्देश

नेपालीहरूको महान् चाड बडादसैँ, २०८३ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विशेष हर्षोल्लासका साथ बडादसैँ पर्व मनाउने गरिन्छ । दसैँको पहिलो दिन शुभ साइतमा घर तथा मन्दिरमा घटस्थापना गरी जमरा राखिन्छ र सोही दिनदेखि नवमीसम्म नवदुर्गा भवानीको पूजा अर्चना गर्ने गरिन्छ । विजया दशमीका दिन दुर्गा भवानीको पूजा अर्चनासहित गुरुपुरोहित तथा मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रुपमा बडादसैँ मनाउने गरिन्छ ।  विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथनहरू छन् । त्यसैले यो पर्वलाई अन्याय माथि न्यायको एवम् असत्य माथि सत्यको विजय भएको उत्सवको रूपमा मनाउने गरिन्छ ।

दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिन्छ । पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले यस पर्वको अत्यन्तै महत्त्व रहेको छ ।

बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक हाम्रो मुलुकका प्रत्येक जातजातिका आ-आफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्‌भाव र भाइचारा मजबुद् बनाउँदै मुलुकमा रहेको भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

आज हामी बडादसैँ मनाइरहँदा विनाशकारी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिको पीडामा छौँ । यस विपद्‌मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत् आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्‍त परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु । बाढी प्रभावित व्यक्तिहरूको पुनर्स्थापनाको लागि एकताबद्ध भई अघि बढ्न म सबैलाई अपिल गर्दछु ।

अन्त्यमा, बडादसैँ पर्व, २०८३ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक उर्जाको विकास गर्दै राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८३ असोज ३१ शनिबार ।

ने.सं. ११४६ कौलाथ्व: सप्‍तमी ।