सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व  गर्ने राजनीतिक दलका श्रद्धेय  नेताहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु ।

नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।

आज हामी संविधान दिवस मनाइरहँदा २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिले सिङ्गो मुलुक गहिरो पीडामा छ । यस कठिन घडीमा बाढी प्रभावित व्यक्तिहरूको राहत, उद्धार र पुनर्स्थापनाको लागि एकताबद्धभई अघि बढ्न म सबैलाई आव्हान गर्दछु । साथै, यस विपद्‌मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत् आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्‍त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु ।

नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित गरी संविधान सभाबाट नेपालको संविधान जारी भएको एक दशक भन्‍दा बढिको अवधिमा नागरिक स्वतन्त्रता र सर्वोच्‍चता, कानूनी शासनको प्रत्याभूति, राज्यका हरेक निकायमा समावेशी र समानुपातिक प्रतिनिधित्‍वको सुनिश्‍चितता, सबै प्रकारका विभेद र असमानताको सम्बोधन, सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरण जस्ता महत्त्वपूर्ण उपलब्धि प्राप्‍त भएको छ । साथै, नागरिक हित कायम गर्न र राज्यले लिएका दीर्घकालीन लक्ष्य प्राप्‍ति गर्न संविधानको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता हाम्रो राष्‍ट्रिय संकल्प हुनुपर्ने म ठान्दछु ।

सामाजिक, आर्थिक, राजनीतिक र कानूनी दस्तावेजको रुपमा रहेको संविधानले निर्दिष्‍ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य जवाफदेही सार्वजनिक प्रशासन, संवैधानिक निकायको प्रभावकारिता, संवैधानिक निकायले ‍औल्याएका विविध विषयको सम्बोधन, नागरिकको न्यायमा सहज पहुँच लगायतका नागरिकको असन्तुष्टिका विषयहरूको यथोचित सम्बोधन गरी आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरूरी छ । साथै, संविधानबाट प्राप्‍त अवसर र उपलब्धिहरू संरक्षण तथा संस्थागत गर्न एवम् सुशासन र समृद्धितर्फ अगाडि बढ्न हामी सम्पूर्ण नेपालीहरूको साझा सहमति आजको आवश्यकता हो ।

हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो मुलुक बहुजाति, बहुभाषी एवम् बहुसंस्कृतिलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्‍भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ ।

नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानद्बारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ ।

अन्त्यमा, आजको यस दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८३ साल असोज ३ गते शनिबार ।

ने.सं. ११४६ ञलाथ्व: अष्‍टमी ।