सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हरितालिका (तिज) पर्व, २०८३ का अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तिज) पर्व, २०८३ को शुभकामना सन्देश

नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तिज), २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य, पारिवारिक सुख शान्ति, दाम्पत्य जीवनको सफलता र इच्छाएको फल प्राप्तिका लागि भगवान् शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने प्रचलन रहेको छ । आजको दिन महिलाहरू पशुपतिनाथलगायत शिव मन्दिरहरूमा दर्शनका लागि जाने गर्दछन् । हरितालिका तिजको दिन माता पार्वतीले भगवान् शिवलाई पतिकोरूपमा प्राप्त गर्न घोर तपस्या गर्नु भएको वर्णन पुराणहरूमा पाइन्छ । यस दिन  विवाह गरेका छोरीचेलीहरू माइतीमा आउने, भेला हुने, दर खाने, रमाइलो भेटघाट गर्ने, व्रत बसी सामूहिकरूपमा हरितालिका पूजा लगाउने र नाचगानका माध्यमबाट आफ्ना पीर, मर्का र पीडाहरू व्यक्त गर्ने गर्दछन् । परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यवद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।

शान्ति र प्रेरणाको रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्‍नु अति आवश्यक छ । आज भोलि यदाकदा तिज पर्व भड्किलो र खर्चिलो पर्वको रूपमा पनि देखा पर्न थालेको छ । जसले गर्दा न्यून आयस्रोत हुने वर्गका लागि यो पर्व दिनानुदिन कठिन हुँदै गएको पाइन्छ । यस्तो अवस्था रही रहे तिज पर्वको उद्देश्य र मर्म ओझेलमा पर्ने सम्भावनातर्फ हामी सबै सचेत हुन जरूरी छ । यस्ता कुराहरूलाई मनन गर्दै भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकको रूपमा समेत रहेको यस पर्वको मौलिकतालाई संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य पनि हो ।

अन्त्यमा,  हरितालिका (तिज) पर्व, २०८३ ले महिलाविरुद्ध हुनसक्ने सबै भेदभाव‚ हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्न सबैमा उत्साह र जाँगर प्रदान गर्न सहयोग पुगोस् भन्‍ने कामना गर्दछु ।

जय नेपाल !

२०८३ भदौ २९ गते सोमबार ।

ने.सं. ११४६ ञलाथ्व: तृतीया ।