सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय बाल दिवस, २०८३ का अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०८३ को शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा बधाई तथा सुख, शान्ति एवम् सु-स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दछु ।

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । नेपालको संविधानले मौलिक हकको रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाहरूका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू तथा संवैधानिक कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकिकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ । बाल बालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास लिएको छु ।

बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुर्व्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व हो । बालबालिकाको भविष्य सुनिश्‍चित गर्न सिर्जनात्मक, व्यवहारिक, नि:शुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था, पोषणयुक्त आहार, सुरक्षित खानेपानी र सरसफाई, आवश्यक खोप एवम् बालमैत्री स्वास्थ्य संस्था एवम् नीतिगत र कानूनी व्यवस्था गर्न आवश्यक छ । बालबालिकाहरूलाई घर, परिवार, विद्यालय र समुदायलगायत सार्वजनिक स्थानमासमेत सुरक्षित वातावरण सिर्जना गरी उनीहरूको संरक्षण, विकास र सहभागिताका लागि आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न यस दिवसले सहयोग पुग्ने अपेक्षा गरेको छु ।

अन्त्यमा, यस दिवसले बालबालिकाहरूको सर्वाङ्गिण विकासका लागि सम्बद्ध सबैमा थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।

जय नेपाल !

२०८३ भदौ २९ गते सोमबार ।

ने.सं. ११४६ ञलाथ्व: तृतीया ।