सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गौरा पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देश

गौरा पर्व, २०८३ को शुभकामना सन्देश

गौरा पर्व, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका मूलत: पश्चिमी तथा सुदूरपश्‍चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  यस पर्वमा शिव र पार्वती (गौरा)को पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ,  जसको फलस्वरूप  शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख, शान्ति, दीर्घायु र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वमा गहुँ, धान, केराउ, मास र गहतजस्ता पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा” अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर  मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।

यस पर्वको अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा  देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दु:ख र सुख बाड्ने गर्दछन् । साथै, यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र  पति-पत्नी बीचको सम्बन्ध अझ प्रगाढ हुने  विश्वास रहेकोले यसलाई    धुमधामपूर्वक मनाउने प्रचलन रहि आएको देखिन्छ ।

हाम्रो समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले विविधतामा एकता, सामाजिक एवम् सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख शान्तिका लागि सहयोग पुर्‍याउँदै आएका छन् भन्ने मलाई लाग्दछ ।

अन्त्यमा, यस पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा थप योगदान गर्न प्रेरणा मिलोस् भन्ने कामना  गर्दछु ।

जय नेपाल !

२०८३ भदौ १९ गते शुक्रबार ।

ने.सं. ११४६ गुँलागा: अष्टमी ।