सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले श्रीकृष्ण जन्माष्‍टमीका अवसरमा दिनुभएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०८३ को शुभकामना सन्देश

भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व,२०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज विश्वभर सनातन धर्म संस्कृतिको पालना, संरक्षण र विकासमा संलग्न हुनेहरूले मानव जीवनका लागि मूल्यवान् रहेका धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देशहरू प्रवाह गर्ने भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व धुमधामकासाथ मनाउने गरेको पाइन्छ । विशेष गरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिर र नेपाल भरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको आराधना गरी मनाइन्छ ।

स्वार्थरहित कर्म गर्ने, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागयुक्त व्यवहार गर्ने, कर्तव्यप्रति सदा अडिग रही विनम्रतापूर्वक कर्म गर्नेजस्ता भगवान् श्रीकृष्णका सन्देशहरू आज पनि उत्तिकै सान्दर्भिक र उपयुक्त छन् भन्ने मलाई लाग्दछ ।

यस पर्वले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आवद्ध गरी आपसी सद्‌भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएको छु ।

अन्त्यमा, श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्णमा आपसी सद्‌भाव, करूणा, कर्म, योग र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८३ भदौ १९ गते शुक्रबार ।

ने.सं. ११४६ गुँलागा: अष्टमी ।