आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको सन्देश
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा उहाँलाई स्मरण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली भाषाप्रेमी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा वि. सं. १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूद्वारा विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ ।
आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रभावित भएर समाजका लागि केही गर्ने अठोट लिनुभएको थियो । संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेर उहाँले नेपाली साहित्यको जग बसाल्नु भएको हो । हिमाल, पहाड र तराईका सबै नेपालीबीच जनचेतनाको विकास र भावनात्मक एकता अभिवृद्धि गर्न रामायणले महत्त्वपूर्ण भूमिका निभाएको छ । भानुभक्तीय रामायण नेपाली भाषा-लिपिको प्रवर्द्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा र सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्याउने रचना हो ।
आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा पनि चिनिनुहुन्छ । उहाँले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैका पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवम् संस्कृतिको संवर्द्धनका निम्ति अतुलनीय योगदान पुर्याएको पाइन्छ ।
भानुभक्तप्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपालीभाषीहरूबीच भाषिक एकता कायम गर्न मद्दत पुगेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्दछ । भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा ऐतिहासिक सांस्कृतिक स्थलका रूपमा विकास गर्न सकेमा नै उहाँप्रति हाम्रो सच्चा सम्मान हुनेछ भन्ने मलाई लाग्दछ ।
अन्त्यमा, आदिकवि भानुभक्त आचार्यलाई सम्मानका साथ स्मरण गर्दै आजको दिनले सबै भाषाभाषी समुदायलाई आ-आफ्ना भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८३ असार २९ गते सोमबार ।
ने. सं. ११४६ तछलागा: चतुर्दशी ।


