२३औँ राष्ट्रिय धान दिवस, २०८३ को शुभकामना सन्देश
२३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
कृषिमा परनिर्भरता बढ्दै गएका कारण आफ्नै देशमा धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने आदर्श वाक्यका साथ २३औँ राष्ट्रिय धान दिवस, २०८३ मनाइरहेका छौँ ।
नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । साथै, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्नेसम्बन्धी नीति पनि संविधानमा व्यवस्था छ । नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् । हाम्रो प्रमुख खाद्यान्न बाली धान भएकाले यसको हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवम् धार्मिक महत्त्व पनि रहेको छ ।
धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट छ । नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ । हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने भएकाले असार पन्ध्रलाई दहीचिउरा खाने दिन पनि भनिन्छ ।
जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवम् उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ ।
नेपालको धान खेती वर्षामा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धान खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु ।
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य भएका जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवम् चामल आयात न्यूनीकरण गर्न सकिन्छ । श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ । जीवन धान्नका लागि मात्र कृषि पेसा होइन, अब व्यावसायिक कृषितर्फ लाग्न म सबैलाई आह्वान गर्दछु । यसका लागि सम्बन्धित निकायले त्यसतर्फ ध्यान देओस् भन्ने चाहन्छु ।
अन्त्यमा, २३औँ धान दिवसले कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न प्रेरणा देओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८३ असार १५ गते सोमबार ।
ने.सं. ११४६ तछलाथ्व: पूर्णिमा ।


