सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बाह्रौं विश्व योग दिवस (२१ जुन २०२६) को अवसरमा दिनुभएको शुभकामना सन्देश

बाह्रौं विश्व योग दिवस, (२१ जुन २०२६) को शुभकामना सन्देश

बाह्रौं विश्व योग दिवस  (२१ जुन २०२६) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन सुरु गरिएको हो । हामी यस वर्ष ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने आदर्श वाक्यको साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइरहेका छौं ।

योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास हो । यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन हुन्छ । योगलाई  शारीरिक अभ्यास तथा निश्‍चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवम् जीवन पद्धतिका रुपमा लिइन्छ । योग ध्यान र साधनाका कारण शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउँदै तनाव कम भई सकारात्मक ऊर्जा प्राप्त गर्ने माध्यम हो ।

विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान तथा  ऐतिहासिक एवम् पुरातात्विक तथ्यहरूले  नेपाल योग भूमिका रूपमा रहेको पुष्टि हुँदै आएको देखिन्छ । म योगलाई मुलुकको राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अंगका रूपमा स्थापित गर्दै यस क्षेत्रको विकासमा थप कार्य गर्न आवश्यक रहेको ठान्दछु ।

योगका माध्यमबाट हाम्रो दैनिक कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, पाचन प्रणाली सुदृढ हुने, सकारात्मक सोचको विकास हुने एवम् आन्तरिक ऊर्जा प्राप्त हुन सक्दछ । साथै योगले ज्ञान, कर्म, चेतना एवम् स्थिरतातर्फ डोर्‍याउने भएकाले मानिसलाई स्वस्थ जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योग अभ्यासले सहयोग पुर्‍याउँछ भन्ने मलाई लाग्दछ ।

विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौं वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंशका रूपमा रहेको देखिन्छ । आजको आधुनिक युगमा विभिन्न कारणबाट मानिसमा देखिने तनाव, प्रदूषण र प्रतिस्पर्धा आदिबाट कष्टकर बन्दै गएको मानव जीवनलाई सहज, सरल र स्वस्थ बनाउन योग अभ्यासलाई जीवनशैलीका रूपमा उपयोग गर्नु लाभदायक हुने देखिन्छ ।

अन्त्यमा, यस दिवसले हामी सबैलाई सकारात्मक ऊर्जा प्राप्त भई शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ एवम् सुखी रहन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८३ साल असार ७ गते आइतबार ।

ने.सं. ११४६ तछलाथ्व: सप्तमी ।