विश्व वातावरण दिवस, (जुन ५) २०२६ को शुभकामना सन्देश
विश्व वातावरण दिवस (जुन ५) २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रकृति र वातावरण मानव जीवनको आधार हो । स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा अधिकार हो । संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छौँ ।
जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको छ । जलवायु परिवर्तन भविष्यको लागि खतरा मात्र नरहेर वर्तमान समयमानै यसको प्रभाव देख्न सकिन्छ । नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढी पहिरो तथा वातावरणीय असन्तुलन जस्ता असरहरू देखिएको छ । विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु ।
यस विशेष दिनले हामी सबैलाई वातावरण संरक्षणतर्फ सचेत, जिम्मेवार र सक्रिय बन्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । स्वच्छ उर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकुलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमार्फत् हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ ।
अन्त्यमा, वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिताका लागि आजको दिनले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।
जय नेपाल !
२०८३ जेठ २२ गते शुक्रबार ।
ने.सं. ११४६ अनलागा: पञ्चमी ।


