जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को शुभकामना सन्देश
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिवद्ध बन्न प्रेरणा प्रदान गरेको छ ।
वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाउँदै आएका छौँ ।
नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक र सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ ।
जातीय विभेद तथा छुवाछुतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानूनी व्यवस्थाबाट मात्र सम्भव हुँदैन । यसका लागि समाजका सबै तह/वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य छ । विविधता भित्रको एकतालाई सुदृढ गर्दै समतामुलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनु पर्ने आवश्यकता यस दिवसले पुन: स्मरण गराएको छ ।
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात-जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समता सहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदको विरूद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज र संचारकर्मीलाई अझ बढी संवेदनशील हुन हार्दिक आव्ह्वान गर्दछु ।
अन्त्यमा, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सुसँस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८३ जेठ २१ गते बिहीबार ।
ने.सं. ११४६ अनलागा: चतुर्थी ।


