सम्माननीयहरू,
माननीयहरू,
उपस्थित विशिष्ट व्यक्तित्व,
कुटनीतिक नियोगका प्रमुखहरू,
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
सर्वप्रथम १९ औं गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
आजको दिन हाम्रालागि विशेष छ । यो दिन मात्र एक साधारण दिन हैन, यो हाम्रालागि एक ऐतिहासिक दिन हो । किनभने आजभन्दा ठिक १९ बर्ष अगाडि हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौं । म यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, सुशासनसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलन र संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
साथै, आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा कृयाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु । त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठूलो त्याग र परिश्रम गर्नुहुने अग्रज नेताहरू तथा परिवर्तनका सारथी नागरिक समाज र राजनीतिक दल सबैलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहान्छु ।
हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो । जनता आफैंले बनाएको संविधानमार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्वित मान्यताहरूले सिंचित गरेर थप सर्वोत्कृष्ट बनाएका छौं । अतः संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन । यो यसकारण पनि कि, यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ । राज्य सत्ता र शक्तिको श्रोत पूर्णतः नागरिकलाई मानेको छ । हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रुपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौं । यही अभ्याशले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुर्याएको छ ।
स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिमको जिम्मेवारी निर्वाह गरिरहेका छन् । यस शासकीय व्यवस्थामा जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ । नागरिकको गुनासो भए शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भैरहेको छ । यसले लोकतन्त्रको जरा बलियो बनाउँछ । लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ ।
हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय हो ।
गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ । यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका
लागि अभिप्रेरित गरेको छ । किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रालागि राष्ट्रनिर्माणको एक महान प्रेरणा र अभिभारा हो ।
राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन । हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनीधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निश्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।
अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धीलाई सवल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्दछ । हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक सम्बृद्धि सुनिश्चित गर्नुपर्दछ । हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ । हाम्रा शासकीय संरचना र राज्यअंगहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ । हामीले शुसाशनको प्रत्याभूति दिनै पर्दछ ।
जगजाहेर छ कि, आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको छ । लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यीनै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ । जवसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन ।
आज नागरिकले सुशासनसहितको सम्बृद्धि खोजेका छन् । यसका लागि हाम्रा श्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक छ । अनिमात्र हामी हाम्रो कृषि, पर्यटन, उर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौ । अनिमात्र आर्थिक विकास र सम्बृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौं । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो । यो अर्थमा आजको
दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व संझाएको छ । म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौ ।
मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको छ । यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको छ । शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने मैले विश्वास लिएको छु ।
हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन् । यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।
म आशा गर्छु, गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा र मूल्यमान्यतामा एवं आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्नेछौं । गणतन्त्र फगत एक व्यवस्था होइन । यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो । यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन् । त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ । आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्बृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सिमाभित्र आवद्ध गर्न प्रेरणा देओस् भन्ने कामनासहित सबैलाई सुखद भविष्यको शुभकामना !
जय नेपाल !
मितिः २०८३ जेठ १५

