आठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को शुभकामना सन्देश
आज जेठ १६ गते “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु ।
वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने विश्वास लिएको छु ।
महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गरी आत्मनिर्भर बनाउन, स्रोत, साधन एवम् अवसरमा समान पहुँच स्थापित गर्न र निर्णय प्रकियामा सहभागिता अभिवृद्धि गर्न सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको छ । महिलामाथि हुने सबै प्रकारका विभेद हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । घर, समाज, कार्यस्थल तथा निर्णय प्रकृयामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता देखिन्छ ।
आजका नेपाली महिलाहरूले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको देखिन्छ । महिलाहरूको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता हो ।
अन्त्यमा, यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाहरूको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८३ साल जेठ १६ गते, शनिबार ।
ने.सं. ११४६ अनलाथ्व: चतुर्दशी ।


