सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ईद-उल-अज्हा (बकर इद) पर्व, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद-उलअज्हा (बकर इद) पर्व, २०८३ को शुभकामना सन्देश

मुस्लिम समुदायको महान् पर्व ईद-उल-अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास लिएको छु ।

मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा  खुसी, सद्‌भाव तथा  शुभकामना आदान प्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई  ईद-उल-अज्हाको नमाज पढ्नुका साथै शुभकामना साटासाट  गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।

विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाड पर्वले विश्‍वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा साँस्कृतिक विविधताबीच आपसी सद्‌भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवम् सहअस्तित्वका आधारमा आ-आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु । विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने मेरो विश्वास रहेको छ ।

अन्त्यमा, ईद-उल-अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्‍भाव र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८३ जेठ १४ गते बिहीबार ।

ने.सं.  ११४६ अनलाथ्व: द्वादशी ।