विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ को शुभकामना सन्देश
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकोले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ ।
प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जान्छ । प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारहरूलाई सञ्चार कार्य गर्नाका लागि सुरक्षित वातावरण हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।
हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवम् निर्वाधरुपमा संलग्नभई समाचार संप्रेषण गरी सबै वर्ग एवम् समुदायको आवाज मुखरित हुनुपर्दछ ।
नागरिकलाई दिग्भ्रमित गर्ने अपुष्ट, भ्रामक, र आधारहीन प्रकाशन र प्रसारणका सूचना संप्रेषण गर्ने तथा आम नागरिकलाई सही विचार निर्माण गर्न बाधासमेत उत्पन्न गर्ने गर्दछ । त्यसैले स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्दछ ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती हाम्रो सामु छ । यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्दछु ।
अन्त्यमा, नेपाली सञ्चार जगत्लाई संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८३ वैशाख २० गते आइतबार ।
ने.सं. ११४६ वछलागा: द्वितीया ।


