उभौली पर्व, २०८३ को शुभकामना सन्देश
किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
ऋतु परिवर्तनको संकेत दिने पर्वको रूपमा र जङ्गली जनावर तथा पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्दछन् । उभौलीमा लगाइएको बाली उधौलीमा घर भित्र्याइने चलन पनि रहेको पाइन्छ । यस दिन साकेला नृत्य गर्दै मीठा-मीठा परिकार खाएर आपसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग यो पर्व मनाउने परम्परा रहेको छ ।
यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुग्दछ भन्ने विश्वास लाग्दछ । यस्ता साँस्कृतिक पर्वहरूले देशको साँस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्दछ ।
अन्त्यमा, उभौली पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरि सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८३ साल वैशाख १८ गते शुक्रबार ।
ने.सं. ११४६ वछलाथ्व: पूर्णिमा ।


