सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व मजदुर दिवस (मे १, २०२६) को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व मजदुर दिवस (मे १, २०२६) को शुभकामना सन्देश

विश्व मजदुर दिवस (मे १, २०२६) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु ।

श्रमिकहरूको पेशागत मर्यादा र सम्मान अभिवृद्धि गर्न उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ मा यो दिवस मनाउने गरिन्छ । यस दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास  लिएको छु ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक एवम् श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । त्यस्तै, समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको छ । मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न परिकल्पना गरिएको संवैधानिक प्रबन्धले मूर्तरूप लिदै जाने विश्वास लिएको छु ।

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत् स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशी उत्पादनको प्रयोगमा जोड दिदैं स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ । उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।

अन्त्यमा, विश्व मजदुर दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवम् समाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८३ वैशाख १८ गते शुक्रबार ।

ने.सं. ११४६ वछलाथ्व: पूर्णिमा ।