सीता जयन्तीको शुभकामना सन्देश
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायणलगायत पुराणहरूमा वर्णन गरिएको पाइन्छ ।
माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरका रूपमा रहि आएको छ । जानकी, वैदेही, जनक नन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धाभक्तिपूर्वक लिदै आज सीता जयन्तीका अवसरमा देशभरका राम जानकी मन्दिरमा र जनकपुरको जानकी मन्दिरमा विशेष पूजा अर्चना गरी यो पर्व मनाइन्छ ।
माता सीतालाई पतिव्रता, धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिको रूपमा लिइन्छ । मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीको रूपमा समेत माता सीताको श्रद्धा गरिन्छ । जगत् जननीको रूपमा पूजा अर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी नेपालीहरूका लागि गौरवको विषय हो ।
अन्त्यमा, सीता जयन्तीको यस पावन दिनले हामी सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाजको निर्माण गर्नका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८३ वैशाख १२ गते शनिबार ।
ने.सं. ११४६ वछलाथ्व: नवमी ।


