दसौँ भूकम्प स्मृति दिवसको सन्देश
गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउनु हुने सबै दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
भूकम्प एक प्राकृतिक विपत् हो । प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ । नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहन पर्दछ भन्ने मलाई लाग्दछ ।
हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।
नवनिर्मित एवम् पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको समेत प्रयोग हुनु पर्दछ । भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, प्राकृतिक विपद सबैका लागि जोखिमपूर्ण हुने हुदाँ भूकम्प स्मृति दिवसले भूकम्पीय जोखिम न्यूनीकरणमा सबैलाई साझा जिम्मेवारी निर्वाह गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८३ वैशाख १२ गते शनिबार ।
ने.सं. ११४६ वछलाथ्व: नवमी ।


