नव वर्ष २०८३ को शुभकामना सन्देश
नव वर्ष २०८३ को सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
हाम्रो देशमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्त्वपूर्ण हिस्सा हुन् । जसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउँछन् र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्दछन् ।
हामी नेपालीहरूले नव वर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यहरूका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिँदै आएका छौं । विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न संकल्पवद्ध रहने हाम्रो परम्परा रहिआएको छ । त्यसैले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन पनि हो ।
भर्खरै मुलुकमा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको छ र जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको अवस्था छ । यो निर्वाचनमार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन् र यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने संकल्प गरौं भन्ने पनि चाहेका छन् ।
जुन संकल्पलाई हाम्रा सन्ततीहरूले भोली हामीमाथि गर्व गरुन् र भनुन् हाम्रा पुर्खाहरूले लोकतन्त्रको आलोकमा अगाडि बढ्ने जुन संकल्प गरे, त्यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षण थियो । त्यो लक्ष्यले हामी सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गरोस् ।
लक्ष्य त्यसै प्राप्त हुँदैनन् । लक्ष्य प्राप्त गर्न संकल्प र साधना चाहिन्छ । विधि र विधानलाई आत्मसात गरेको सुसंस्कृत व्यवहार तथा आचरणसहितको अविचलित साहस चाहिन्छ । हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज हामी केही संकल्प गरौं । पहिलो संकल्प गरौं, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, बचन र कर्मले निष्ठ रहने छौं । जस्तोसुकै अप्ठ्यारोमा पनि यसको गरिमालाई बचाउनेछौ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौं । दोश्रो संकल्प गरौं कि हामी सुशासनप्रति प्रतिवद्ध रहने छौं । राजनीति, राज्य र राजकाजलाई विधिको शासन, नैतिकता, निष्ठा, मूल्यमान्यता र आदर्शको सिमाभित्र आवद्ध गर्नेछौं । तेश्रो संकल्प गरौं कि हामी समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिवद्ध रहनेछौं । हामी हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने छौं । भातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुनेछ । सामाजिक एकता र आपसी सम्मान हाम्रो सास्कृतिक चरित्र हुनेछ । चौथो संकल्प गरौं, हामी जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौं । पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ । हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको स्वतन्त्रता र हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।
मलाई लाग्छ, यी संकल्पहरूलाई हामीले राष्ट्रिय संकल्प बनाउन सक्यौँ भने नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अभिष्ट राखेको सुशासनमार्फत सामाजिक न्यायसहितको विकास र समृद्धिको उचाई छुन कसैले रोक्न सक्दैन । नयाँ बर्षले संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको त्यही लक्ष्य पूरा गर्ने संकल्प र सामर्थ्य पैदा गरोस् र नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरित गरोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८३ साल वैशाख १ गते मङ्गलबार ।
ने.सं. ११४६ चौलागाः द्वादशी ।


