सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २६२५ औं महावीर जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२६२५ औं महावीर जयन्तीको सन्देश

जैन धर्मका प्रवर्तक महावीरको २६२५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

महावीरले गर्नुभएको अहिंसा र संयमको उत्कृष्ट साधना साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको अनुकरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको छु ।

अन्त्यमा, आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै  सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वासकासाथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८२ चैत १७ गते मङ्गलबार ।

ने.सं. ११४६ चौलाथ्व त्रयोदशी ।