राम नवमी पर्व,२०८२ को शुभकामना सन्देश
राम नवमी पर्व, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्री रामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप आदि गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको छ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास मैले लिएको छु ।
राम नवमी भगवान् श्री रामको जन्म दिवस मात्र नभई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसियालीको दिवसकारुपमा पनि लिइन्छ । यस दिन मूलत: देशको विभिन्न स्थान एवम् जनकपुरस्थित राम जानकी मन्दिरमा भव्य मेला लाग्दछ । राम नवमी जस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु ।
अन्त्यमा, हाम्रो मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ चैत्र १३ गते शुक्रबार ।
ने.सं. ११४६ चौलाथ्व नवमी ।


