विश्व पानी दिवस, २०२६ (२२ मार्च) को शुभकामना सन्देश
पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्ने कामनासहित विश्व पानी दिवस, २०२६ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘लैङ्गिक समानताको लागि पानीको महत्त्वपूर्ण भूमिका’ भन्ने सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइरहेका छौँ ।
पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो । मानव सभ्यताको विकासदेखि आजसम्म पानीले जीवनयापनका हरेक पक्षलाई दिशा निर्देश गरेको छ । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो‚ जसले पारिस्थितीकीय प्रणालीलाई दिगो बनाउन‚ नदीहरूको बहावलाई व्यवस्थित गर्न‚ जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउँदछ । बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवम् प्रदूषणका कारण पानीका स्रोतहरू सुक्दै गइरहेका छन् । खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता हो भन्ने मलाई लागेको छ ।
भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की भौतिक संरचनाको कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ । साथै, अव्यवस्थित मानव वस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ । भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल‚ पोखरी र तालतलैयाहरूको निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्द्धन गर्नु पर्दछ । पानीको संरक्षण, दिगो उपयोग, तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न संघसंस्था तथा आम नागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न हार्दिक आह्वान गर्दछु ।
अन्त्यमा, “खानेपानी र लैङ्गिक समानता” लाई व्यवहारमा उतार्दै सुरक्षित, समावेशी र समृद्ध समाज निर्माण गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ साल चैत्र ८ गते आइतबार ।
ने.सं. ११४६ चौलाथ्व, चतुर्थी ।


