सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ईद (ईद उल फित्र) पर्व, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (ईद उल फित्र) पर्व, २०८२ को शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद (ईद-उल-फित्र) पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी  दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

ईद (ईद-उल-फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशिर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ । यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास लिएको छु ।

हाम्रो देशमा इस्लाम समुदाय बसोबास गर्ने विभिन्न स्थानहरूमा यो पर्व मनाइन्छ । सामाजिक एवम् साँस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लाग्दछ ।

अन्त्यमा, यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८२ चैत ७ गते शनिबार ।

ने.सं.  ११४६ चौलाथ्व तृतीया ।