सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को शुभकामना सन्देश

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिलाको हक, अधिकारको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा क्रियाशील सबैमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।

महिला अधिकार तथा लैङ्गिक समानता प्रवर्द्धनको पूर्ण प्राप्‍तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष संयुक्त राष्ट्र संघबाट तय भएको “Right. Justice. Action. For ALL Women and Girls” (सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर) भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाइरहेका छौं ।

विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाहरूको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य सहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ । संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको छ । लैङ्गिक समानता र महिला सशक्तिकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी,  नीति निर्माण एवम् निर्णय प्रकृया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस मैले गरेको छु ।

परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्नेजस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी देखिन्छ । जनसंख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुदाँ  यसतर्फ विशेष ध्यान  पुर्‍याउन जरूरी छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सम्बन्धित सबैलाई आव्हान गर्दछु ।

अन्त्यमा, यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार, समानता, सशक्तिकरण तथा सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न सबैमा थप उर्जा, उत्साह एवम् प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८२ फागुन २४  गते आइतबार ।

ने.सं. ११४६ चिल्लागा पञ्चमी ।