सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले फागुपूर्णिमा (होली) पर्व, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०८२ को शुभकामना सन्देश

नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

रङ्गहरूको पर्वको रुपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वको रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ  हुने होली पर्व पूर्णिमाको राती चीर दाह गरेपछि समापन हुन्छ । होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको छ । यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्म माथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एक आपसमा अबिर तथा  रङ्ग दलेर सद्‍भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको छ ।

अन्त्यमा, होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्‌भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८२ फागुन १८  गते सोमबार ।

ने.सं. ११४६ चिल्लाथ्व चतुर्दशी ।