सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ग्याल्पो ल्होसार, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ग्याल्पो ल्होसार, २०८२ को शुभकामना सन्देश

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रमहरू आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाई गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्सेजस्ता परिकार सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता, सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ भन्ने कुरामा म विश्वस्त छु ।

अन्त्यमा, ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८२ फागुन ६  गते बुधबार ।

ने.सं. ११४६ चिल्लाथ्व प्रतिपदा ।