सहिद दिवस, २०८२ को सन्देश
सहिद दिवस, २०८२ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
सहिद दिवस देशका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्ध भएका विभिन्न आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौँ ।
आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।
महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धान्जली हुने विश्वास लिएको छु ।
अन्त्यमा, सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूको आकांक्षालाई साकार बनाउन आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीकासाथ पूरा गर्न यस दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ माघ १६ गते शुक्रबार ।
ने.सं. ११४६ सिल्लाथ्व द्वादशी ।


