वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८२ को शुभकामना सन्देश
माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहनु भएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
माता सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीको रुपमा मानिने परम्परा रहिआएको छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने प्रचलन पनि रहिआएको छ । संगीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र साइत जुराउनु पर्ने शुभ कार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।
आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने अवसर पनि हो । वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमश: न्यानो हुँदै जाने हुनाले यस पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटता समेतलाई दर्शाउँछ । विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।
अन्त्यमा, वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्याकी देवी सरस्वतीको हामी सबैमा कृपा रहिरहोस् भनी पुन: शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ माघ ९ गते शुक्रबार ।
ने.सं. ११४६ सिल्लाथ्व पञ्चमी ।


