तमु ल्होसार पर्वको शुभकामना सन्देश
गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरूभएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन छ । गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ । नेपालको ऐतिहासिक, साँस्कृतिक र सामाजिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै सामाजिक एकता, मेलमिलाप तथा पर्यटन प्रवर्द्धन गर्न यस पर्वले थप टेवा पुर्याउने अपेक्षा गरिन्छ ।
गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवन शैलीसँग सम्बन्धित यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ पुस १५ गते मङ्गलबार ।
ने.सं. ११४६ पोहेलाथ्व एकादशी ।



