सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय ज्येष्‍ठ नागरिक दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय ज्येष्‍ठ नागरिक दिवस, २०८२ को शुभकामना सन्देश

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वि. सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम  उक्त दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको पाइन्छ । यस वर्ष पनि “हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने आदर्श वाक्यका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन गइरहेका छौँ । ज्येष्ठ नागरिकहरूको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उहाँहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सके मात्र यो दिवस सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ ।

ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकको रूपमा रहनु भएको छ । उहाँहरूको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानीत व्यवहार र सहज जीवनयापनका लागि सामुहिक प्रयास गर्न सबैमा  म आग्रह गर्दछु । नेपाल सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा र संरक्षणका विभिन्न सेवा सुविधाको प्रभावकारीतामा वृद्धि गर्दै  दक्षतापूर्वक कार्यान्वयन गर्न सम्वद्ध सबैमा आव्हान गर्दछु ।

अन्त्यमा, माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्‍ठ नागररिक दिवस सफलताको शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८२ पुस ११ गते शुक्रबार ।

ने.सं. ११४६ पोहेलाथ्व षष्‍ठी ।