क्रिसमस डे, २०२५ को शुभकामना सन्देश
इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
इसाई धर्मका अनुयायीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवम् साँस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ ।
प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवर्द्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिन्छ । यस्ता पर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनाका साथै विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
अन्त्यमा, इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ पुस १० गते बिहीबार ।
ने.सं. ११४६ पोहेलाथ्व पञ्चमी ।



