३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश
अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष “अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी यस दिवस मनाइदैंछ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको पाइन्छ । समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ । अपाङ्गताको आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई पनि समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको देखिन्छ ।
संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी आदिको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गर्न अझै थप कार्य गर्नुपर्ने आवश्यक देखिन्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी/सार्वजनिक एवम् निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्री पूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको अनिवार्य आवश्यकता रहेको महसुस हुन्छ ।
अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनाहरूमा परिवर्तन ल्याई समावेशिता, समानता, मानव अधिकार पहुँचयोग्य वातावरण एवम् भेदभावविहिन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार,परिवार, समाज तथा संघ संस्थाहरूको एकल र सामुहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पुर्याउने मैले विश्वास लिएको छु ।
अन्त्यमा, आजको यस महत्त्वपूर्ण दिनले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू, नेपाल सरकार एवम् अभिभावक समूह, नागरिक समाजलगायत सबैलाई अपाङ्गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहने प्रेरणा एवम् उर्जा मिलोस् भन्ने कामना सहित शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ मङ्सिर १७ गते बुधबार ।
ने.सं. ११४६ थिंल्लाथ्व त्रयोदशी ।



