विवाह पञ्चमी पर्वको शुभकामना सन्देश
त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमी पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाम तथा मिथिला क्षेत्रमा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी पर्व अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजा सहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । धार्मिक पवित्रता, सत्य, आदर्श जीवनशैली तथा पारिवारिक सद्भावको प्रतिकको रूपमा रहेको यस पर्वले परम्परागत संस्कृतिको संरक्षण गर्दै वैवाहिक जीवनमा आदर्श, मर्यादा र जिम्मेवारीको सन्देश समेत दिएको पाइन्छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको छु ।
अन्त्यमा, प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्दै सबै नेपालीहरूमा सभ्य, सुसंस्कृत एवम् सुशासित समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ मङ्सिर ९ गते मङ्गलबार ।
ने.सं. ११४६ थिंल्लाथ्व पञ्चमी ।



