सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा विशेष कार्यक्रमहरूको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । उहाँको मार्ग दर्शनले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।

महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताको रूपमा समाज सुधारक भई धर्म, भाषा, लिपि, परम्पराको संरक्षण र विकासमा समेत कार्य गर्नु भएको पाइन्छ । सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउन उहाँले दिनुभएको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकतावद्ध बनाउँदै आपसी सम्मान, मेलमिलाप र समाजसेवाको भावना अभिवृद्धि गर्न थप बल पुग्नेछ भन्ने मलाई लागेको छ ।

अन्त्यमा, फाल्गुनन्द जयन्तीले हामी सबैमा सहिष्णुता, सद्‍भाव, सुशासन, अहिंसा एवम् समाज सुधारको अभियानमा सक्रिय भईरहन थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८२ साल कात्तिक २५ गते मङ्गलबार ।
ने.सं. ११४६ कछलागा षष्‍ठी ।